इलाम । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र झापाको विमान ट्रेडर्स दोस्रो इलाम आमन्त्रित खुला लिग कम नकआउट पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।

आर्मीले अर्को विभागीय टिम पुलिस क्लब र विमानले विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर फाइनल भेट पक्का गरेका हुन् ।

शनिबारको पहिलो सेमिफाइनल खेलमा आर्मीले पुलिसलाई २५-२२, २५-२२ र २५-२० को सेटमा हरायो । पुलिसले पहिलो सेटमा २५-१९ को जित हासिल गरे पनि पर्याप्त भएन ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका मानबहादुर श्रेष्ठ, हरि अधिकारी, धनबहादुर भट्ट, हरिहजुर थापा र राजेन्द्र विष्टलगायतका खेलाडीले आर्मीको तर्फबाट सानदार प्रदर्शन गरे । टिम कप्तान इम रानामगर, कुलबहादुर थापा, विशाल विक र दीपकराज जोशीलगायत अनुभवी खेलाडीलाई पुलिसले मैदान उतारेको थियो ।

भारतको राष्ट्रिय टिमका खेलाडीहरू प्रिन्स, सुगमलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव गरिसकेका अधिकतर खेलाडी रहेको विमानले एफिएफलाई सोझो सेटमा पराजित ग¥यो । विमानले २७-२५, २५-२० र २५-२२ को सेटमा एफिएफलाई पाखा लगायो ।

राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी एकराज अवस्थी, विनोद चन्द र विजय थापालगायतका खेलाडीले एफिएफको तर्फबाट विमानको सामना गरे । एफिएफकै हेमन्त मल्ल शनिबारको म्यान अफ् दि म्याच घोषित भए ।

आज आइतबार आर्मी र विमानबीच बिहान १० बजे फाइलन खेल हुनेछ । ४ गते सुरु प्रतियोगितामा ७ टिम सहभागी थिए । विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख १ हजार र तेस्रो हुने टिमले नगद ५१ हजार रुपैयाँ पाउनेछन् ।