धुलाबारी (झापा) । आयोजक रोलिङ क्लब धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सोमबार भएको तेस्रो क्वार्टर फाइनलमा पाहुना टोली सशस्त्र प्रहरी बल (एपिएफ) पकलीलाई ५-२ गोल अन्तरले हराउँदै आयोजक रोलिङले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

धुलाबारी माविको खेल मैदानमा भएको खेलमा आयोजक रेलिङले एपिएफलाई खेल अविधभर दबाबमा राखेको थियो । एपिएफले ए डिभिजन स्तरका केही खेलाडी मैदान उतारे पनि रोलिङसामु निरीह बन्यो ।

खेलको २५औँ मिनेटमा रोलिङका फर्वाड अजय राजवंशीले पहिलो गोल गर्दै आफ्नो क्लबका लागि खाता खोलेका थिए । पहिलो हाफमा २-० ले अगाडि रहेको आयोजक रोलिङ क्लबका लागि तीर्थ बस्नेतले ४७ औँ मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको छैटौँ मिनेटमा रोलिङका रक्षक पेपेले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अग्रता ३-० मा पुर्याए । पुजन उपरकोटीको कर्नर प्रहारलाई पेपेले गोलको दिशा दिएका थिए । दोस्रो हाफको १५ औँ मिनेटमा आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै अजय राजवंशीले आयोजकलाई ४–० को स्थितिमा पुर्याए ।

१९औँ मिनेटमा तीर्थले काउन्टर अट्याकिङ गर्दै ल्याएका गोल प्रहार साइड पोलमा ठोक्किएर फर्किए पनि फोफुनाले गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि एपिएफले दुई सान्त्वना गोल फर्काएको थियो । खेलको २७ औँ र ३५ औँ मिनेटमा एपिएफका मेहनती खेलाडी समिर राईले दुई गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन । खेलाडीबीच तालमेल नमिल्दा र रक्षापंक्ति कमजोर हुँदा एपिएफले हार ब्यहोर्नु परेको थियो ।

खेलको म्यान अफ दि म्याच आयोजक रोलिङ क्लबका दुई गोलकर्ता अजय राजवंशी भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको सचिव महेश खड्काले जानकारी दिए ।