काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू २३ टिमलाई १-० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो । बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरे ।

खेलको ३०औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे । खेलको इन्जुरी समयमा किर्गिस्तानले गोलको अवसर पाएको थियो । तर, टासेभ कामुलिद्दीनले पोस्ट नजिकबाट फ्री हेडमा गोल गर्न सकेनन् । उनको प्रहार आकाशिएको थियो ।

खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए । यससँगै बंगलादेशले पहिलो पटक किर्गिस्तानको उमेर समूहको टिमलाई हराउन सफल भएको छ ।

यस अघि दुई देशको राष्ट्रिय टिमबीच भएको चार भेटमा भने किर्गिस्तानले जित हासिल गरेको थियो । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ । र, फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ ।

नेपालले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।