धुलाबारी (झापा) । पहिलो हाफमा अग्रता लिएको रेडहर्ष एफसी इलामलाई स्तब्ध बनाउँदै रोलिङ च्यालेञ्ज कपमा आयोजक फाइनलमा प्रवेश गरेको छ ।

एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै आयोजक रोलिङ क्लब झापाको धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

आज बुधबारको जीतसँगै रोलिङ क्लबले एक लाख रुपैयाँ सुनिश्चित गरेको छ । रोलिङले पाहुना टोली रेड हर्सलाई ३-१ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

इलामले सुरुवाती अग्रता लिए पनि सम्हालिन नसक्दा हार व्यहोर्नु परेको थियो । खेलको ३९औँ मिनेटमा इलामका विकेस लिम्बूले इलामका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेलको ५३औँ मिनेटमा कोमल खवासले उत्कृष्ट गोल गर्दै नतिजा बराबारीमा ल्याएका थिए । त्यस्तै, खेलको ६१औँ मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै नतिजा २-१ बनाए । खेलको इन्ज्युरी समयमा खवासले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै फाइनल यात्रा निश्चित बनाए ।

खेलको म्यान अफ दि म्याच आयोजक रोलिङ क्लबका दुई गोलकर्ता कोमल खवास भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । अग्रज खेलकुदकर्मी गणेशविक्रम नेम्वाङले उनलाई नगद हस्तान्तरण गरे ।

चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको सचिव महेश खड्काले जानकारी दिए ।

२० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नम्बर १० रहेको छ ।