झापा । ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे पाँच बजेदेखि सुरु हुने यो खेलमा नेपालले किर्गिस्तानको सामना गर्दैछ ।

नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित ‘थ्री नेशन्स कप’ मा आज हुन लागेको खेल दोस्रो खेल हो । यसअघि उद्घाटन खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० ले हार बेहोरेको थियो । प्रतियोगितामा नेपालले किर्गिस्तानलाई हराए बङ्गलादेशविरुद्धको दोस्रो खेल खेल्नुअघि नै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

किर्गिस्तानले भने प्रतियोगितामा जिवित रहन आजको खेलमा नेपाललाई हराउनैपर्ने बाध्यता छ । नेपालले किर्गिस्तानलाई बराबरीमा रोकेर बङ्गलादेशविरुद्धको खेल जित्ने अवस्थामा पनि किर्गिस्तान बाहिरिनेछ ।

नेपालले घरेलु दशर्कको उपस्थितिमा आफ्नो पहिलो खेलमा जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । प्रशिक्षक बालगोपाल महर्जनले यस खेलका लागि सुरुआती ११ सार्वजनिक गरेका छन् । जसमा सञ्जोग राई र त्रिदेव गुरुङले राष्ट्रिय टोलीबाट डेब्यू गर्दैछन् ।

यस्तै प्लेइङ सेटमा अभिषेक रिजाल, अञ्जन विष्ट, तेज तामाङ, रवि पासवान, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ रहेका छन् । टोलीको कप्तानी गोलरक्षक किरणले गर्नेछन् ।