काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट आफु खुसी रहेको बताएका छन् ।

अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेपछि बोल्दै डिफेन्डर महर्जनले आफ्नो खेल जीवनबाट सन्तुष्ट रहेको बताएका हुन् ।

‘खेल जीवनलाई फर्केर हेर्दा खुसी छु । आजबाट फुटबल पूरा भएको छ । म खेलाडीको रुपमा खुसी छु’, महर्जनले भने ।

थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । खेलको ९०औं मिनेटमा त्रिदेब गुरुङको स्थानमा विराज मैदान प्रवेश गरेका थिए ।

विराजले शुखद बिदाइ समेत पाए । विराजको अन्तिम खेलमा नेपालले थ्री नेसन्सको उपाधि उचाल्यो ।

खेल सकिएपछि टिमका अन्य खेलाडीले बोकेर उनलाई मैदान परिक्रमा गराएका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ कोट प्रदान गरेका थिए ।

‘यो मेरो लागि महत्वपूर्ण खेल थियो । मैले यो ठाउसम्म आउने सोचेको थिएन । नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको छ’, विराजले भने, ‘यो क्षण म बिर्सन सक्दिनँ ।’

लेफ्ट ब्याक विराजले सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । त्यस यता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् ।

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चम्जोङले विराजलाई उपाधि सहित बिदाइ गर्न पाउँदा टिम खुसी भएको बताए । ‘ु१२ वर्षबाटका सहकर्मीलाई बिदाइ गरेका छौँ । उपाधि ट्रफीसहित बिदाई गर्दा खुसी छौँ’, उनले भने ।