काठमाडौँ । गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताए, जुन घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो ।

त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई लिगमा उत्कृष्ट गोलकिपरको ‘गोल्डेन ग्लोभ्स अवार्ड’ जितेका थिए । त्यसको एक सातामै अर्को सफलताका रूपमा उनी ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ भएका छन् । यो स्तरको सफलता हात पार्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले महादेशकै साताका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक गरेको थियो । एएफसीको वेबसाइटमा गरिएको भोटिङमा ५५.६९ प्रतिशत मत प्राप्त गर्दै किरण एसियाकै उत्कृष्ट खेलाडी भएको एएफसीले सोमबार जनाएको छ ।

साउदी अरेबियाका फरवार्ड सलेह अल सेहरी (२०.७२) दोस्रो र इराककी राइट–ब्याक अला अली मवाई (१०.१६) तेस्रो भए । उनीहरूसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहमद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजकिस्तानका अलिसेर जालिलोभ छन् ।

‘एसियाकै साताका उत्कृष्ट खेलाडीमा मेरो नाम आउँछ र जित्छु भन्ने सोचेको थिइनँ । हाम्रोजस्तो देशका खेलाडीले खासै अवसर पाउँदैनन् । यसअघि नेपाली खेलाडी मनोनयनमै परेको थिएन । त्यसैले भोटिङमा जित्दा अविश्वसनीय नै भयो,’ थ्री नेसन्स कपका तीनमध्ये दुई खेलमा विपक्षीलाई गोल गर्ने अवसर नदिएका ३१ वर्षीय चेम्जोङले खुसी साटे, ‘हाम्रो पनि सम्भावना छ भन्ने देखियो । मैले सबैभन्दा धेरै भोट पाउनु भनेको नेपाली फुटबलप्रेमीको माया हो । सानो देश भए पनि हामी एकसाथ गर्न सक्छौं भन्ने भएको छ ।’ कान्तिपुरबाट