अर्जुनधारा । झापाको अर्जुनधारा-४ स्थित सूर्यज्योती तेक्वान्दो डोजाङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई शनिबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।

नेपाल तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षता र सामाजिक व्यक्तित्व केदारनाथ पराजुलीको प्रमुख आतिथ्यमा आयोजित जुनियर ग्रेडिङ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई ट्रयाकसुट पनि प्रदान गरियो ।

यसरी सम्मानित हुनेहरुमा सेकेन्ड थानपा इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसीपमा ५८ केजी तौल समूहका स्वर्ण पदक विजेता शनिश्चरे तेक्वान्दो डोजाङका अरुण डाँगी, गत वर्ष सम्पन्न भएको ११औं राष्ट्रपति रनिङ शिल्डमा ५१ केजी तौलका स्वर्ण पदक विजेता शनिश्चरे डोजाङका सिजन बुढाथोकी, गत चैत ५ र ६ गते सम्पन्न भएको मेची अञ्चलस्तरीय तेक्वान्दो प्रतियोगितामा ५१ केजी तौलका स्वर्ण पदक विजेता सूर्यज्योतिका राजकुमार दर्जी रहेका छन् ।

त्यसैगरी प्रदेश नं १ स्तरीय तेक्वान्दो प्रतियोगितामा ४८ केजी तौलका रजत पदक विजेता सूर्यज्योतिका रुद्र दनुवार र जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा ४६ केजी तौलका रजत पदक विजेता सूर्यज्योतिका भूवनचन्द्र आचार्य रहेका छन् । त्यस्तै डोजाङका अनुशासित खेलाडी पासाङ तामाङलाई एक थान साईकल प्रदान गरिएको थियो ।

डोजाङका प्रमुख प्रशिक्षक दिपेन्द्र दनुवारका अनुसार डोजाङका ६३ जना र सिस्ने–शान्ति तेक्वान्दो डोजाङका सात जनासहित जम्मा ७० जनाको ग्रेडिङमा सहभागिता रहेको थियो । संघका अध्यक्ष सुब्बा र सचिव कुमार भट्टराईले ग्रेडिङ लिएका थिए ।

स्थानीय नवदुर्गा आधारभूत विद्यालयको खेलमैदानमा भएको ग्रेडिङमा नगर सभा सदस्य विष्णुमाया विसुङखे, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य दिपीन राई, विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडा, शिक्षक राजेन्द्र कार्की, करातेका प्रशिक्षक दिपेन राई, गोपाल बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।