बिराटनगर । सशस्त्र प्रहरीको एपीएफ क्लबले शनिबार सम्पन्न प्रतिष्ठित छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिराटनगरस्थित शहिद रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा एपीएफले पञ्जाब पुलिस, भारतलाई १-० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

एपीएफको जितमा पहिलो हाफकै ११औं मिनेटमा बक्स नजिकैबाट प्रदिप लामाले गरेको सुन्दर फिनिसिङ गोल विभागीय टोलीलाई उपाधि जिताउन पर्याप्त बन्यो र निर्णायक पनि बन्यो ।

विजेता बनेको एपीएफले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्यो भने उपविजेता पञ्जाब पुलिस, भारतले ७ लाख ५१ हजारमा चित्त बुझायो ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा गत चैत्र २६ गतेदेखि शुरु प्रतियोगितामा तीन विदेशी टोलीसहित कुल १० टोलीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।