सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड भेट्रान क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इटहरीका लागि पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा इटहरीका डेनिम राईले खेलको १५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । २८औँ मिनेटमा जोनी मोक्तानले गोल गर्दै इटहरीको अग्रता दोब्बर बनाए । २-० गोलको स्थितिमा बिर्तामोडका दिपक राईले २६औँ मिनेटमा गोल गरेर अन्तर कम गरे ।

तर, ३४औँ मिनेटमा डेनिम राईले व्यक्तिगत दोस्रो गोल गर्दै इटहरीलाई ३-१ गोलको स्थितिमा पुराए । उनले फ्रिकिकमार्फत गोल गरेका हुन् । यसैबीच, दोस्रो हाफको ५ मिनेटमा दिपक राईले दोस्रो गोल गर्दै बिर्तामोडलाई ३-२ को अन्तरमा समेटे पनि जीत हुन सकेन । खेलको ७२औँ मिनेटमा इटहरीका कुमार राईले गोल गर्दै फराकिलो गोलअन्तर निकालेर जीत सुनिश्चित बनाए ।

खेलको म्यान अफ दी म्याच इटहरीका डेनिम राई घोषित भए । उनलाई दुर्गा प्रसाईको तर्फबाट आयोजक कनकाई भेट्रान क्लबका अध्यक्ष दिनानाथ खतिवडाले नगद २ हजार प्रदान गरे । डेनिमलाई नै पहिलो गोलकर्ताको रुपमामा स्थानीय फुटबलप्रेमी लय उप्रेतीले नगद १ हजार पुरस्कार पनि दिए ।

कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । सोमबार धरान भेट्रान क्लब र विराट बुद्ध भेट्रान क्लब विराटनगरबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।