काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला अन्तर्गत आज हुने नेपाल र नेदरल्याण्ड्सको खेलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै आजको खेलमा दर्शकलाई प्रवेश निषेध गरेको जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सोमबारको मन्त्रिपरिषको बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको थियो । सोही अनुसार क्यानले आजको खेलमा दर्शकलाई प्रवेश निषेध गरेको हो ।

प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ । उता नेदरल्याण्ड्स पनि पहिलो खेलमा नेपालसँग भोगेको हारको बदला लिने अभियानमा रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा हिजो मलेसियालाई पनि समान ९ विकेटले नैं पाखा लगायो ।