सुरुङ्गा । झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । दूधेले इटहरीसँग सेमिफाइनलमा भेट पक्का गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको गोल भने दोस्रो हाफमा सम्भव भएको हो । दूधेका लागि खेलको ४८औँ मिनेटमा मोहन तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, उनैले ५५औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाउन सफल भए ।

खेलको अन्त्यतिर लय समाएको दमक–लखनपुरले एक गोल फर्काउन सफल रह्यो । खेलको ६१औँ मिनेटमा सुवास आङथुपोले गोल गर्दै गोलअन्तर घटाए पनि जीतका लागि सम्भव भएन ।

खेलको म्यान अफ दी म्याच दुई गोलकर्ता दूधेका मोहन तामाङ घोषित भए । उनलाई स्थानीय फुटबलप्रेमी राजेन्द्र उप्रेतीको तर्फबाट नगद २ हजार प्रदान गरियो ।

कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । आयोजक कनकाई भेट्रान क्लबले विराटनगरकाे विराट बुद्ध भेट्रान क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।