झापा । प्रत्यक्ष पठनपाठन नगर्ने गरी झापा बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालयहरु वैशाख १९ गतेसम्मका लागि बन्द गरिएका छन् ।

मंगलबार बिर्तामोड नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले पूर्व निर्धारित परीक्षा गर्नेगरी वैकल्पिक सिकाई सुचारु गर्दै बैशाख १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैशाख २० गतेदेखि वार्षिक परीक्षा संचालन गर्ने तालिका रहेको छ । विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित नगराउने गरी वैकल्पिक सिकाइ गराउने निर्णय गरिएको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए ।

उनले वैशाख २० गतेदेखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै पूर्व निर्धारित वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । यसअघि मन्त्रिपरिषद्को बैठकले झापाको मेचीनगर, बिर्तामोड र दमक नगरक्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि बसेको सरोकारवालाहरुको बैठकले वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको हो ।

विद्यार्थीहरु उपस्थित नभए पनि विद्यालय भने खुल्ला रहनेछन् । परीक्षाको तयारीका लागि विद्यालय खुल्ला रहने नगर शिक्षा अधिकारी भण्डारीले बताए । बिर्तामोडमा सामुदायिक र संस्थागत गरी ७५ वटा विद्यालय रहेका छन् । त्यहाँ करिव ३२ हजार विद्यार्थी अध्ययनरत छन् ।

सरोकारवालाहरुको बैठकमा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल ,सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, प्याव्सन र एन प्याव्सनका प्रतिनिधिहरु, पेशागत संगठनका प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो ।

यस्तै मेचीनगर नगरपालिकाका विद्यालयहरुमा वैशाखभरि प्रत्यक्ष सिकाइ स्थगित गरिएको छ । वैकल्पिक सिकाइ सुचारु गर्नेगरी प्रत्यक्ष सिकाइ बैशाखभरिका लागि बन्द गरिएको नगरपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए । मेचीनगरमा १०३ वटा विद्यालय रहेका छन् । त्यहाँ करिव ३३ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

मंगलबार नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको बैठकले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सरकारले सोमबार सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यसैगरी दमक, बिर्तामोड र मेचीनगरका विद्यालय बन्द गर्न जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

समितिको बैठकले ती स्थानमा वैकल्पिक माध्यमबाट पढाइ गर्न निर्देशन दिएको हो । समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बैठक बसेको थियो ।