झापा (एजेन्सी) । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समक्ष पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि नौ रङशाला प्रस्ताब गरेको छ ।

आईसीसी टी ट्वान्टी विश्वकपको आगामी संस्करण भारतमा अक्टोबर नोभेम्बर महिनाका लागि निर्धारित गरिएको छ । अहमदाबादले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आयोजना गर्ने प्रस्ताब गरिएको छ ।

बीसीसीआईले अहमदाबाद, बैंग्लुरु, चेन्नई, देल्ही, धर्मशाला, हैदराबाद, कलकत्ता, लखनऊ र मुम्बई गरी नौ खेलस्थल प्रस्ताब गरेको हो । १६ राष्ट्र सम्मिलित प्रतियोगिता नोभेम्बर १३ मा सम्पन्न हुने गरी निर्धारण गरिएको छ ।

भारत कोभिड १९ को दोस्रो लहरले तङ्ग्रिएको अवस्थामा आईसीसीले खेल स्थल र तयारीको अवलोकन गर्नेछ । तर विज्ञलाई पठाउन समेत आईसीसीले चुनौतीको सामना गर्नुपरेको छ । यद्दपी आगामी साताको सुरुवातमै आईसीसीको विज्ञ टोली भारत आइपुग्ने जनाइएको छ ।

आईसीसीले इन्डियन प्रिमियर लिग (आईपीएल)को सञ्चालनलाई विश्वकप टी ट्वान्टीको तयारीको रुपमा नियालेको छ । बीसीसीआईले आईपीएलको सफल आयोजना गर्ने अवस्थामा उसले निर्वाध विश्वकप खेल्ने वातावरण तयार गर्नेमा आईसीसी विश्वस्त छ ।