सुरुङ्गा । सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दूधे भेट्रान्स क्लबलाई १-० गोल अन्तरले हराउँदै हाम्रो इटहरीले फाइनलमा स्थान पक्का बनाएको हो ।

खेलको पहिलो हाफमा इटहरीले गरेको एक गोल नै जितका लागि काफी भयो । खेलको २१औँ मिनेटमा हाम्रो इटहरीका डेनिम राईले उत्कृष्ट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । राईको करिब २५ यार्ड लामो फ्रिकिक प्रहारले सोझै जाली चुमेको थियो ।

यसअघि १५औँ मिनेटमा हाम्रो इटहरीका जोनी तामाङको प्रहार गोलबार छेउबाट बाहिरिएको थियो । त्यस्तै, खेलको तेस्रो मिनेटमा दूधेका भीष्मप्रसाद खरेलको प्रहार गोलरक्षकले बचाएका थिए । प्रेम घिमिरेले सेन्टर लाइनभन्दा पछाडिबाट दिएको पास खरेलले इटहरीको रक्षापंक्ति बिट भएको मौकामा एक्लै गोल लिएर अघि बढेका थिए । तर, उनको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन ।

त्यस्तै, छैटौँ मिनेटमा प्रेम घिमिरेको प्रहार इटहरीका गोलरक्षकको हातबाट फुस्किएपछि गरेको प्रहार गोल हुन सकेन । खेल मैदान हिलाम्मे भएका कारण खेलाडीले गोल नियन्त्रण लिन सकेका थिएनन् ।

आजको खेलको म्यान अफ द म्याच इटहरीका रामशरण चौधरी घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।

शनिबार हुने फाइनल खेलमा इटहरीले आयोजक कनकाई भेट्रान्स क्लबको सामना गर्नेछ ।

कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।