खेमचन्द्र अधिकारी,

विराटचोक । सुन्दरहरैंचा १२ स्थित शुक्रबारे खेलमैदानमा आयोजित प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले हात पारेको छ ।

उपाधिसँगै पथरीशनिश्चरेले नगद ३ लाख र ट्रफी पाएको छ भने उपविजेता आयोजक सुन्दरहरैंचाले नगद १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

फाइनल खेलको २९औं मिनेटमा पथरीशनिश्चरेका सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक बनेको थियो । रिबाउन्ड बललाई दीपक राईको पासमा न्यौपानेले गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको ४५औं मिनेटमा सुन्दरहरैंचाले पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा  खेलमा फर्किने अवसर गुमाएको थियो । पथरीले पनि थुप्रै गोल गर्ने अवसर गुमाएको थियो ।

फइनल खेलको ‘म्यान अफ द म्याच’ निर्णायक गोलकर्ता सन्तोष न्यौपाने घोषित भए । उनले नगद २ हजार पुरस्कार पाए । त्यस्तै, उत्कृष्ट गोलकिपर पथरीका अर्जुन बस्नेत, उत्कृष्ट मिडफिल्डर पथरीका साइमन लिम्बू, उत्कृष्ट प्रशिक्षक पथरीका अर्जुन राई, उत्कृष्ट डिफेन्डर सुन्दरहरैंचाका महेन्द्र कार्की, उत्कृष्ट फरवार्ड सुन्दरहरैंचाका आशिष चौधरी घाेषित भए ।

त्यस्तै, उत्कृष्ट व्यवस्थापकमा पथरीका रोशन मान्देङ्वा, उदीयमान खेलाडी सुन्दरहरैंचाका नितेश श्रेष्ठ, सर्वाधिक गोलकर्ता पथरीका विशाल पाण्डे र सुन्दरहरैंचाका वीरेन्द्र लिम्बू, सर्वाेष्कृष्ट खेलाडी सुन्दरहरैंचाका टिम कप्तान कोमल खवास घोषित भए । उनीहरुले जनही ५ रुपैयाँ पुरस्कार पाए ।