काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे । काठमाडौंका तेज तामाङले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो ।

धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।

इमर्जिङ प्लेयर साैजन राइ धनगढी र सुपर प्लेयर अफ दी म्याच धनगढीकै फ्ररान्कलिन घाेषित भए । उनीहरूले क्रमशः १० हजार र २५ हजार पाए ।