काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५:३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छ ।

पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भए पनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने मौका पाएको हो । लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।

यस खेलको विजेताले फाइनल प्रवेशका लागि इलिमिनेटरमा काठमाडौंसँग खेल्नेछ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । ‘तयारी राम्रो छ । ललितपुरविरुद्ध जित्नको लागि खेल्छौं,’ गोलकिपर प्रशिक्षक समेत रहेको उज्ज्वल मानन्धरले भने ।

बुटवलका मार्की खेलाडी हुन् गोलरक्षक विशाल श्रेष्ठ । तर, पछिल्लो धनगढीविरुद्धको खेलमा भने विराज महर्जनले टोलीको कप्तानी सम्हालेका थिए । प्लेअफमा समेत विराजले नै टोलीको कप्तानी समाल्नेछन् ।

ललितपुरविरुद्ध मैदान उत्रदै गर्दा बुटवललाई कुनै पनि खेलाडीको चोटले सताउने छैन । पहिलो खेलमा पोखरा थण्डर्सलाई पराजित गरेको बुटवलले अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गर्दै ‘हेड टु हेड’मा पोखरालाई पछाडी पारेर शीर्ष चारमा स्थान बनाएको थियो ।

यता, पछिल्ला दुई खेलमा शतप्रतिशत जित निकाल्दै प्लेअफमा स्थान बनाएको ललितपुर बुटवलविरुद्ध जित निकाल्दै लगातार तेस्रो जित निकाल्ने दाउँमा हुनेछ ।

मुख्य प्रशिक्षक प्रदिप हुँमागाईको बर्खास्तीसँगै टोलीको प्रशिक्षण सहायक प्रशिक्षक राजु तामाङले गरिरहेका छन् ।
‘खेलाडी उत्साहित छन् । गाह्रो अवस्थाबाट माथि उठेका छौं । खेलाडीमा आत्माविश्वास छ । जित्नकै लागि खेल्छौं,’ पूर्व राष्ट्रिय खेलाडी तामाङले भने ।