काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले थुप्रै गोलको अवसर सिर्जना गरेको थियो । तर, ललितपुरले एक मौकालाई सदुपयोग गर्यो ।

खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाए । मिक्छेन तामाङको क्रसमा अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरे । ललितपुरको जितमा त्यहिँ गोल निर्णायक बन्यो ।

खेलमा ललितपुरका गोलकिपर अर्पण कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै मिक्छेन तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ ।

पहिलो इलिमिनेटरमा धनगढी एफसीसँग पराजित भए पनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । बुटवल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ललितपुर र काठमाडौंबीचको खेल भोलि (बिहीबार) हुनेछ । यस खेलको विजेताले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ । खेलपाटीबाट