काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरिरहेको छ । सो बजेटमा खेलकुद क्षेत्रमा कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट छुट्याउन सरोकारवालाहरूले माग गरेका छन् ।

नेपाल खेलकुद महासंघले अर्थमन्त्री विष्णु पौडेललाई एक प्रतिशत बजेट छुट्याउन आग्रह गर्दै २१ बुँदे मागपत्र बुझाएको छ । बुधवार मन्त्री पौडेललाई माग पत्र बुझाइएको खेलकुद महासंघका महासचिव मेघराज पौडेलले बताए ।

महासंघले एसियन र ओलम्पिक खेलमा पदक जितेका खेलाडीका लागि सरकारी निकायमा स्थायी रोजगारी दिन माग गरेको छ । साफ खेलका पदक विजेतालाई दिइँदै आएको प्रोत्साहन भत्ता बढाउन र रोजगारीको व्यवस्था गर्न पनि महासंघले अर्थमन्त्रीसँग आग्रह गरेको छ ।

‘निजामती, प्रहरी, सेना र निगममा कर्मचारी पदपूर्ति गर्दा खेलकुद क्षेत्रको लागि छुट्टै कोटा तोक्न माग गरेका छौं’, खेलकुद महासंघका महासचिव मेघराज पौडेलले भने, ‘सार्वजनिक तथा सामुदायिक विद्यालय तथा महाविद्यालयहरूमा खेलकुद शिक्षकको अनिवार्य व्यवस्था गर्न माग गरेका छौं ।’

महासंघले पूर्वाधार विकासका लागि आवश्यक बजेट बिनियोजन गर्न आग्रह गरेको छ ।