काठमाडौं । नेपालले शनिबार फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ ।
इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् ।
फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।
इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ ।
नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।
नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो । एसियन गेममा भएको भेटमा इराकले ३-० ले बाजी मारेको थियो ।
सन् २००१ अप्रिल १४ मा भएको दोस्रो भेटमा इराकले ९-१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए ।
सन् २००२ मा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि हात पारेको फिफा विश्वकप छनोटको खेलमा समेत नेपाल र इराक भिडेका थिए । त्यस भेटमा भने नेपालले दुई गोल गरेको थियो । इराकले त्यसको बदला ४ गोल गर्यो । यस भिडन्तमा नेपालमा हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए ।
करिब दुई दशकपछि मैदान उत्रदा दुबै टोलीमा युवा र अनुभवी खेलाडी रहनेछन् । यसबीचमा इराकले एसिया कप समेत जितिसकेको छ । नेपाल भने दक्षिण एसियाली फुटबलमै सीमित छ । खेलपाटीबाट