दोस्रो दिनको अभ्यासका क्रममा नेपाली खेलाडीहरु ।

झापा । नेपालले आज इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । इराकको बास्रास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा १० बजे यो खेल सुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै इराक पुगिसकेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफूभन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ । फिफा वरीयतामा इराक नेपालभन्दा १ सय ३ स्थान माथि रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ । इराकविरुद्धको खेल नेपालका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको लागि पहिलो खेल हुनेछ । नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ ।

यस अघिका तीनै खेलमा इराकले नेपाललाई हराएको छ । एसियन कप समेत जितिसकेको इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह ’सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यता, समूह ’बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।