झापा । विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो ।

नेपाल टोली इराकसँगको मैत्रीपूर्ण खेल खेलेर त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले यही जेठ २० गते चाइनिज ताइपेईसँग खेल्ने छ । दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको हो । नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेको हो । शनिवार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो । कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह ‘बी’ मा रहेको नेपाल तीन अङ्क जोड्दै चौथो स्थानमा छ । त्यही समूहमा रहेको चाइनिज ताइपेई अङ्कविहीन छ ।

समूहको शीर्ष स्थानमा १२ अङ्कका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अङ्कसहित कुवेत रहेको छ । यस्तै १० अङ्कका साथ जोर्डन तेस्रो स्थानमा छ । विश्व फुटबल महासङ्घ (फिफा)को वरीयतामा अष्ट्रेलिया ४१औं स्थानमा, जोर्डन ९५औं, चाइनिज ताइपेई १४१औं तथा नेपाल १७१औं स्थानमा छन्।