कुवेत । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपालले अष्ट्रेलियाविरुद्ध वीर गोर्खाली जस्तै प्रर्दशन गरेको बताएका छन् ।

विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासंग ३-० ले पराजित बनेपछि मुख्य प्रशिक्षक अलमुताईरीले आफ्ना खेलाडीको प्रशंसा गरेका हुन् । उनले वीर गोर्खाली जस्तै खेलाडीले मैदानमा प्रर्दशन गरेको दाबी गरे ।

‘हामीले गोर्खाली जस्तै खेल्यौं । १० खेलाडीमा सिमित बनेपनि केही फरक परेन । खेलाडीले हर सेकेन्ड मेहेनत गरेर खेले’, अलमुताईरीले खेलपछि भने ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा सीमित बनेको थियो । डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । सो अवस्थामा नेपाल २-० ले पछि थियो । दोस्रो हाफमा नेपालले अष्ट्रेलियासंग थप एक गोलमात्र ब्यहोर्यो ।

मुख्य प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडी आयुष घलान, कमल थापा र सुरज जिउ ठकुरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए । नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासंग खेलेको हो ।

‘हामीले आफ्नो उत्कृष्ट दियौं । हामीले काउन्टरमा खेल्ने प्रयास गर्यौ । हामीले रक्षात्मक खेल्ने प्रयास नै गरेनौं’, अब्दुल्लाहले भने । प्रशिक्षक अब्दुल्लाहले अष्ट्रेलियाले नेपाललाई सम्मान गरेर प्रदर्शन गरेको बताए ।

उनले कुवेत, जोर्डन जस्ता बलियो टिमरिुद्ध खेल्ने अष्ट्रेलियाविरुद्ध नेपालले खेलेको बताए । उनले अष्ट्रेलियाले नेपालविरुद्ध सम्मान देखाएर बलियो टिम उतारेको प्रतिक्रिया दिए ।

नेपाल पहिलो लेगको खेलमा अष्ट्रेलियासंग ५-० ले पराजित बनेको थियो । अष्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालको चुनौती दिने मानसिकताको खुलेर प्रशंसा गरे ।

‘उनीहरु एक पछि अर्को गर्दै चुनौती दिए । उनीहरु दौडिन रोकिएनन् । तर, हामी निश्चित काम गर्न यहाँ आएका छौं । त्यो पुरा भएको छैन’, उनले भने । खेलपाटीबाट