झापा (एजेन्सी) । फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेतमा रहेका नेपाली राष्ट्रिय फुटबल टिम भोलि (आइतबार) स्वदेश आइपुग्ने भएका छन् ।

छनोटको बाँकी रहेको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आइतबार स्वदेश पुग्ने छन् । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने छन् ।

छनोटमा नेपालले चाईनिज ताईपे, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । नेपालले चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गरेका थियो । यस्तै जोर्डनसँग ३-० गोल अन्तरले पराजित नेपाल अष्ट्रेलियाविरुद्ध समेत ३-० गोल अन्तरले नै पराजित भएको थियो ।

छनोटको खेलअघि नेपाली टिमले इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना यसअघि नै सकिएको थियो । तर, नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।