झापा (एजेन्सी) । डेनमार्क युरोकप फुटबलको पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा डेनमार्क फिनल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको हो ।

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर लडेपछि झण्डै डेढ घण्टा खेल रोकिएको थियो । उनको होस आएपछि खेल फेरि सुरु गरिएको थियो ।

पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल फेरि त्यहीदेखि सुरु गरिएको थियो । खेलको ५९ औं मिनेटमा फिनल्याण्डका जोल पोहान्पालोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै फिनल्याण्डले समूहमा ३ अङ्क जोडेको छ । खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी पाए पनि गोल गर्न चुक्यो ।

डेनमार्कले गएरातिको खेलमा जित गुमाए पनि आफ्नो खेलाडीलाई भने बचाएको छ । मैदानमा बेहोस भएर लडेका एरिक्सनको अस्पतालमा उपचार भइरहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ ।

यसैबीच, गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा २-० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो ।

बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनिएरले एक गोल गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले फेरि गोल गरे ।

जितसँगै समूह ‘बी’मा रहेको बेल्जियमले ३ अङ्क जोडेको छ । यो समूहमा रहेको फिनल्याण्डको पनि ३ अङ्क नै रहेको छ ।