काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचाअनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप २०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ ।

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो ।

परिमार्जन गरेको मापदण्डअनुसार यसअघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नुपर्ने प्रावधान तोकिएको थियो । तर, एएफसीले बुधबार जारी गरेको नयाँ ढाँचाबाट नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्नेछ । प्ले अफमा चाइनिज ताईपेइ, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्ने तालिका सार्वजनिक भएको छ । प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन् ।