काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका खेलाडीलाई दुई हप्ताको आराम दिएको छ ।

विश्वकप छनोट अन्तर्गत दोस्रो चरणका खेलहरु सकेर स्वदेश फर्किएका खेलाडीलाई एन्फाले दुई हप्ताको आराम दिएको हो । गत आईतबार कुवेतमा सम्पन्न छनोट प्रतियोगिता सकेर स्वदेश फर्किएका खेलाडी करिब एक हप्ता क्वारेन्टिनमा बसेका थिए ।

एन्फाले बिहीबार खेलाडीलाई कोभिड १९ को पहिलो डोजको खोप उपलब्ध गराएको थियो । पहिलो डोजको खोप लगाएर खेलाडीहरु आ-आफ्नो घर लागेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सहमतिमा एन्फाले खेलाडीलाई दुई हप्ताको विश्राम दिएको हो ।

एन्फाका अनुसार दुई हप्ता लगत्तै अलमुताइरीले साफ च्याम्पियनसिको तयारी गर्दैछन् । साफ च्याम्पियनसिपको तयारीका लागि शनिबार मात्र अलमुताइरी नेपाल आईपुगेका छन् ।

उनले दुई हप्ता एन्फासँग बसेर साफ च्याम्पियनसिप तयारीको खाका बनाउनेछन् । साफको तयारीका लागि बलिया राष्ट्रसँग मैत्रीपूर्ण खेलको माग अलमुताइरीले गरिरहेका छन् ।

दुई हप्ताको विश्राम लगत्तै अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि खेलाडीको प्रारम्भिक बन्द प्रशिक्षण बोलाउने तयारी गरेका छन् । बन्द प्रशिक्षणमा पुराना र नयाँ खेलाडीलाई मौका दिने अलमुताइरीको योजना छ ।

जिम्मेवारी सम्हाले लगत्तै उनले नयाँ तथा युवा खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिम घोषणा गरेका थिए । उनले राष्ट्रिय टिममा सिनियर र चोट बोकेका खेलाडी भन्दा पूर्ण रुपमा फिट र युवा खेलाडीलाई अवसर दिएका थिए ।