एजेन्सी । भारतीय एथ्लेटिक्सका कीर्तिमानी धावक मिल्खा सिंहको निधन भएको छ । भारतका सबैभन्दा तेज धावक मानिने मिल्खाले पछिल्लो एक महिना कोरोनासंग संघर्ष गरे । शुक्रबार आत्मसमर्पण गरे ।

भारतको सर्वश्रेष्ठ सम्मान पद्यमश्रीबाट विभूषित मिल्खा ९१ वर्षका थिए । उनको परिवारमा एक छोरा र तीन छोरी छन् । उनकी पत्नी निर्मल कौरको समेत कोरोनाकै कारण निधन भएको थियो । कौर भारतीय भलिबल टिमकी पूर्व कप्तान समेत थिइन् ।

मिल्खा सिंहले ‘फ्लाइङ्ग सिख’को नामबाट चर्चा कमाए । उनको नामको पछाडिको कथा भने मन छुने छ । उनले सन् २०१६ मा इन्डिया टुडेलाई दिएको अन्तरवार्तामा यसको खुलासा गरेका थिए ।

सन् १९६० मा मिल्खालाई पाकिस्तानको अन्तर्राष्ट्रिय एथ्लेटिक प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त भएको थियो । मिल्खा भारत-पाकिस्तान विभाजनको चोटबाट मुक्त भएका थिएनन् । सोही कारण उनी पाकिस्तान जान चाहदैन थिए ।

तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएपछि उनी पाकिस्तान जान राजी भए । पाकिस्तानमा त्यो समय अब्दुल खालिक थिए । उनी पाकिस्तानका सबैभन्दा तिव्र गतिका धावक थिए ।

प्रतियोगिताको दौरान करिब ६० हजार पाकिस्तानी समर्थक अब्दुल खालिकलाई हौसला प्रदान गर्न रंगशालामा थिए । तर, मिल्खाको गतिका अघि खालिक टिक्न सकेनन् ।

मिल्खाले सो दौड जित्ने बित्तिकै तत्कालिन राष्ट्रपति फिल्ड मार्शल अयूब खानले उनलाई ‘फ्लाइङ्ग सिख’को नाम दिए । त्यसपछि उनी ‘फ्लाइङ्ग सिख’को नामबाट छाए ।

मिल्खा सिंहको जन्म सन् १९२९ नोभेम्बर २० मा गोविन्दपुरा (हाल पाकिस्तान)मा किसान परिवारमा भएको थियो । उनी आफ्ना बुवा आमाको कुल १५ सन्तानमध्ये एक थिए । उनको परिवार देश विभाजनको शिकार भएको थियो ।

सो क्रममा उनका माता पिता सहित ८ भाई–बहिनी मारिएका थिए । यस बिभत्स घटनालाई देखेका मिल्खा पाकिस्तानको ट्रेनमा लुकेर दिल्ली पुगेका थिए ।

चार पटक एसियाली खेलमा स्वर्ण पदक जितेका थिए, मिल्खाले । सन् १९६० को रोम ओलम्पिकमा मिल्खाको प्रर्दशनलाई सर्वश्रेष्ठ मानिन्छ । उनी ४ सय मिटर फाईनलमा चौथो स्थानमा रहेका थिए ।

उनले सन् १९५६ र १९६४ को ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए । उनी सन् १९५९ मा भारतको सर्वश्रेष्ठ पद्यमश्रीबाट सम्मानित भएका थिए ।