एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी हुन् ।

याङले २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा रसियन ओलम्पिक कमिटिकी अनास्तासिया गलाशिना रजत पदक जितिन् । उनले २ सय ५१.१ स्कोर जोडिन् । फाइनलको अन्तिम प्रहारमा दुवैले कमजोर प्रदर्शन गरेका थिए ।

अन्तिम प्रहारमा अनास्तासियाले ८.९ को खराब प्रदर्शन गरेपछि स्वर्ण पदकबाट बन्चित भइन् । याङले पनि अन्तिममा जम्मा ९.८ को स्कोर जोडेकी थिइन् । अन्तिम प्रहारअघि अनास्तासिया नै अग्रतामा थिइन् । स्विट्जरल्यान्डकी निना क्रिस्टेनले २३०.६ स्कोरसहित कास्य पदक जितिन् ।

यसै स्पर्धाको छनोटमा खेलेकी नेपाली कल्पना परियारले राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

यसैगरी, टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोका नओहिसा ताकातोले आयोजक जापानका लागि यस संस्करणको पहिलो स्वर्ण जितेका छन् । उनले ६० केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

ताकातोले चाइनिज ताइपेइका युङ वेइ याङलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका हुन् ।

गोल्डेन स्कोरमा पुगेको फाइनलमा याङले तेस्रो शिदो पाएपछि ताकातो विजयी भएका थिए । फ्रान्सका लुका खेइद्जे र कोसोभोका येल्दोस स्मेतोभले कास्यमा चित्त बुझाए ।

यस्तै, मीराबाई चानूले भारतलाई टोकियो ओलम्पिक-२०२० मा पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् ।

भारतले ओलम्पिकमा भारोत्तोलनमा पहिलो पटक रजत पदक जितेको हो । यस स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कांस्य पदक जितिन् ।

चानूले २०२ किलोग्राम तौल उठाएर भारतलाई रजत पदक दिलाएकी हुन् । स्वर्ण पदक विजो जुहईले २१० किलोग्राम तौल उचालेकी थिइन् । भारतलाई टोकियो ओलम्पिक-२०२० मा पहिलो पदक दिलाउन सफल चानूलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।