एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ ।

राजधानी टोकियोमा जारी ओलम्पिकको दोस्रो दिन शनिबार कुल ११ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा ९ राष्ट्रले स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकको दोस्रो दिन २८ राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता बनाएको छ । चीनले शनिबार ३ स्वर्ण र १ कास्य पदकसहित कुल ४ पदक जितेको छ ।

चीनकी सुटिङ खेलाडी याङ चियन टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनिन् । महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै याङ टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी हुन् ।

इटाली १ स्वर्ण र १ रजत सहित कुल २ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । आयोजक जापान १ स्वर्ण र १ रजतसहित २ पदक जितेर तेस्रो स्थानमा रहेको छ । जुडोका नओहिसा ताकातोले ६० केजी तौल समूहमा जापानलाई पहिलो स्वर्ण दिलाए ।

ओलम्पिकको दोस्रो दिन १ स्वर्ण जित्ने अन्य राष्ट्रमा दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्ड रहेका छन् ।

शनिबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सुटिङ खेलाडी कल्पना परियार र जुडो खेलाडी सोनिया भट्टले प्रतिस्पर्धा गरेका थिए । कल्पनाले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाइन् ।

कल्पनाले छनोट चरणमा ६ सय १६।८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । तर, उनी फाइनल चरणमा छनोट हुन सकिनन् ।

यस्तै सोनिया पहिलो खेलमै पराजित भईन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षिया सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाएका छन् । अब तीन खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।