काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा स्टाटस लेखे पनि राजीनामा पत्र नबुझाएको बताए । ुउहाँले सामाजिक संजालमा लेख्नु भएको छ । तर, एन्फामा औपचारिक रुपमा राजीनामा आएको छैन,ु प्रवक्ता राईले भने ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफूले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।

सामाजिक संजालमा राजीनामा दिने घोषणा गरेपछि प्रशिक्षक अलमुताइरी एन्फा पुगेका थिए । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष शेर्पाले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए । यस्तै प्रवक्ता राईले प्रशिक्षक अलमुताइरीको आरोपमा छानबिन हुने बताए ।

यसैबीच, एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने आफ्नो र अलमुताइरीको प्रत्यक्ष भेटसमेत नभएको भन्दै आफूलाई लगाइएको आरोप झुठो भएको बताएका छन् ।

उनले आफ्नो कुनै गल्ती भएको भए आफू एक मिनेट पनि एन्फामा नबस्ने बताए । उनले निष्पक्ष छानबिन गर्न एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पासमक्ष मागसमेत गरेका छन् ।

नेम्वाङले भने, ‘अलमुताइरीले नेपाली फुटबलमा राम्रो काम गर्न खोजिरहेकाले कोशेढुङ्गा बन्न सक्नुहुन्थ्यो । तर, मेरो अढाई दशकको फुटबल करियरमा धक्का दिने गरी लेख्नुभएको छ यो गलत हो । यो ममाथि षड्यन्त्र गरिएको हो । समग्र फुटबलप्रेमीहरुलाई सत्यतथ्य बुझिदिनसमेत आग्रह छ ।’