काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयले छानविन गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानविन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा छ ।

मुख्य प्रशिक्षकले आफुमाथि संघिन आरोप लगाएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविनको माग गर्दै एन्फामा निवेदन दिएका थिए । बिहिबार मात्र मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष र दुई पत्रकारमाथि छानविनको माग गर्दै एन्फामा उजुरी दिएका थिए।

प्रशिक्षकको राजीनामा प्रकरण र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे छलफल गर्न एन्फाले शुक्रबार आकस्मिक कार्यसमितिको बैठक आह्वान गरेको थियो । शुक्रबार अपरान्ह बसेको एन्फा कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

‘घटनाको निष्पक्ष छानविन सर्वोच्च निकायबाट होस भनेर मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक पदाधिकारीले भने ।

एन्फाले आकस्मिक बैठकका लागि निर्वाचित कार्यसमितिका सदस्यलाई बोलाएको थियो । निर्वाचित १७ सदस्यीय कार्यसमिति बैठकले यो निर्णय गरेको हो ।

बैठकबाट बाहिरिदै वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले एन्फाको निर्णय आफूले मान्ने बताएका थिए । एन्फा निर्णयसंगै प्रशिक्षकको राजीनामा र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे मन्त्रालयले छानविन गर्ने भएको छ । बैठकपछि एन्फा प्रवक्ता किरण राईले स्वतन्त्र छानविन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको बताए ।

‘दुवैको कुरा सुन्यौं । स्वतन्त्र छानविन गर्न समिति गठन गर्ने निर्णय भएको छ’, उनले भने, ‘दुवै पक्षबाट छानविनको माग गरेको हुनाले दुवै जनाको धारणा सुन्यौं । दुवैको माग अनुसार निर्णय भयो ।

बैठकको दौरान कार्यसमिति बैठकमा प्रशिक्षक अलमुताइरीलाई राखेर धारणा सुन्ने काम भएको थियो । सो क्रममा वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग र मुख्य प्रशिक्षक अलमुताइरीले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकले महिला फुटबल टिमको इरानसंग र पुरुष फुटबल टिमको बंगलादेश, भारत र सिंगापुर लगायतका देशसंग मैत्रीपूर्ण खेलका लागि पत्राचार भइरहेको उल्लेख गर्दै अवस्था अनुसार खेल्न पठाउने निर्णय गरेको छ ।

एन्फाले साफ च्याम्पियनसिप फुटबलका लागि ५ करोड रकम रुपैयाँको स्रोत सुनिश्चितता दिने सरकारको निर्णयलाई धन्यवाद दिएको छ । साथै प्रतियोगिता आयोजनाको प्रस्ताव माग गर्ने साफलाई बैठकले धन्यवाद प्रकट गरेको छ ।