काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको छलफलले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइने बताएका छन् ।

बोर्डको बैठक सकिएपछि औपचारिकरूपमा निर्णय सार्वजनिक गरिने बताइएको छ । यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस संक्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए ।

तर, कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन् । केही दिनयता नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

यसअघि र कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्धारित परीक्षाबारे पुनर्विचार गर्न परीक्षा बोर्डलाई आग्रह गरेको थियो ।