पर्वत पोर्तेल,
काँकडभिट्टा । पूर्वराष्ट्रिय क्रिकेटर लाक्पा लामाले खेल्न छाडेको दशक नाघ्यो । सन् २००७ बाटै उनी क्रिकेटबाट अलग्गिएका थिए । वडा, नगर स्तरका खेल भने निरन्तर खेलिरहे । एक समय उनी राम्रा फुटबलर थिए । क्रिकेट सुरु गर्नुअघि फुटबल खेल्थे ।
सन् २००५ मा नागाल्यान्डकी नीता लामासँग बिहे गरेर जीवनको दोस्रो इनिङ्स सुरु गरेका थिए । बिहेपछि पनि केही अन्तर्राष्ट्रिय खेलहरूमा उनले सहभागिता जनाए । पछि उनलाई क्रिकेटप्रति वितृष्णा जाग्न थाल्यो । अन्ततः छाडे । छाडेलगत्तै केही समय भौंतारिए । ट्याक्सी किनेर यात्री पनि ओसारे ।
यही संकटबीच श्रीमती नीता वैदेशिक रोजगारीका लागि इजराइल उडिन् । झन्डै दशक लामो इजराइल बसाइ टुंग्याएर उनी हालै फर्किइन् । ४० वर्षीय लाक्पाले अघिल्लो वर्षकै लकडाउनमा कफी हाउस खोल्ने जुक्ति फुराएका थिए । त्यो जुक्ति श्रीमतीलाई सुनाए । श्रीमतीले मनपराइन् । कफी हाउस चलाउने लाक्पाको जुक्ति वर्ष दिनपछि बल्ल साकार भयो । लाक्पाले कोरोनाकालमै ‘कफी इनिङ्स’ सुरु गरे । ‘सबै खेलकुदबाट टाढा भएर व्यापारतिर लागियो अब’, लाक्पाले भने, ‘खेलाडी थिएँ, व्यापारी भएँ ।’
खासमा लाक्पाको पारिवारिक पृष्ठभूमि व्यापारिक नै हो । उनको परिवार काँकडभिट्टाकै पुराना होटल व्यवसायी हुन् । व्यापारिक पृष्ठभूमिकै कारण लाक्पाको झुकाव व्यापारतिर भएको हुनुपर्छ । नेपाली क्रिकेटमा ‘अर्थोडक्स’ लेग स्पिनरको पहिचान बनाएका लाक्पाले कफी हाउसमा नीताको विदेशी कमाइ लगानी गरे । घरका केही कोठा खाली थिए । खाली कोठालाई रंगरोगन गरी आकर्षक बनाए अनि सुरु गरे ‘एलके ९’ कफी हाउस ।
‘कफी हाउसमा करिब २०-२२ लाख जति लगानी भएको छ,’ लाक्पाले सुनाए, ‘कोरोना महामारीले लगानी डुब्ने पो हो कि भन्ने डर पनि छ ।’ आफ्नै निजी घरमा व्यवसाय गरिएकाले बहाल (भाडा) तिर्नुपर्नेलगायतका यावत समस्या भने उनलाई छैन । भन्छन्, ‘कोरोनाले गर्दा सोचेजस्तो व्यापार त भएको छैन, घाटा पनि भइहालेको छैन ।’उनले कफी बनाउने प्रशिक्षण लिएका दुई दक्ष कर्मचारी राखेका छन् । कफी पिउन आएका ग्राहकलाई उनी र श्रीमती आफै ‘सर्भ’ गर्छन् ।
यो सानो सीमान्त सहरमा दुइटा कफी हाउस पहिल्यै थिए । अब तीनवटा भयो । कफी हाउसको बढ्दो संख्यासँगै गुणस्तरीय र हस्पिटालिटीमा चुनौती थपिएको लाक्पा बताउँछन् । ‘ग्राहकलाई कसरी खुसी तुल्याउने भन्ने पहिलो प्राथमिकता हो,’ उनले भने, ‘एकपटक कफी चाखेर गएको ग्राहक फर्किएर आउन् भन्ने हामी चाहन्छौं ।’
सन् २००० मा लाक्पाले यू–१७ राष्ट्रिय टोलीमा बंगलादेशवाट डेब्यु गरेका थिए । २००१ मा यू-१९ एसीसी कप पनि खेले । २००२ मा सिंगापुरबाट राष्ट्रिय टोलीमा डेब्यु गरे । फरक शैलीबाट बल प्रहार गर्ने कारण लाक्पा छोटो समयमा चर्चित बने । २७ बढी अन्तर्राष्ट्रिय खेल खेलेका उनले ५० भन्दा बढी विकेट लिएका छन् । भविष्यमा निजी लगानीमै क्रिकेट एकेडेमी चलाउने लाक्पाको योजना छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।