बिर्तामोड । सूर्योदय क्वीज सिजन ५ को उपाधि सीता रमेश बहुमुखी क्याम्पस बुद्धशान्ति झापाले जितेको छ ।
शनिबार भएको ग्रान्ड फिनालेमा सीता रमेश बहुमुखी क्याम्पसले उपाधि जितेको हो । यस्तै जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो, मोडल कलेज दमक तेश्रो र महेन्द्र मेमोरियल एकाडेमी दुहवी र पथरी बहुमुखी क्याम्पस मोरङ सान्तवना भए ।
प्रतियोगिताको विजेताले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १०-१० हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेताहरुलाई ग्रान्ड फिनालेका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जीवन पोखरेल र सूर्योदय टिभी एण्ड मिडियाका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
गत फागुनदेखि शुरु भएको यस प्रतियोगितामा प्रदेश १ का झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट १ सयवटा कलेज सहभागी भएका थिए । कलेजमा प्लस टु तथा स्नातक तहमा अध्ययनरत विद्याथीहरुले सहभागिता जनाएका हुन् ।
बिर्तामोडमा प्रधान कार्यालय रहेको सूर्योदय टेलिभिजनले सूर्योदय क्वीज, स्पिच कन्टेस्ट लगायतका कार्यक्रमहरु प्रतियोगिताको रुपमा हरेक वर्ष आयोजना गर्दै आएको छ ।