काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ । छनोटको समूह ुएफु मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।
छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
छनोटका लागि नेपालले तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा २८ खेलाडी राखेका छन् ।