फाइल तस्वीर ।

काठमाण्डौ । पाँच देशको सहभागिता निश्चित भएको १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुवात गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले बुधबार १३औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ सार्वजनिक गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । वर्ष दिनपछि धकेलिएको १३औँ संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहने निश्चित भएको हो ।

यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । यसअघि भुटानले सहभागिता जनाउन सक्ने सङ्केत दिएको थियो तर अन्तिम समयमा सहभागिता कोरोनाका कारण नजनाउने भएपछि भुटानसँगै फिफबाट निलम्बनमा परेको पाकिस्तान पनि प्रतियोगितबाट बाहिर रहेको हो ।

पाँच राष्ट्र सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुँदैछ । सार्वजनिक भएको तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल श्रीलङ्कासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २५ गते खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन् । साफ च्याम्पियनशिपका लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा पोखरा रङ्गशालामा तयारीलाई तीव्रता दिइरहेको छ ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अलमुताइरीले पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका छन् ।