काठमाडौं । नेपाली पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट मंगलबार अभिषेक रिजालसहित तीन खेलाडीहरु बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले बन्द प्रशिक्षणमा रहेका अभिषेकसहित शिशिर लेखी र गोलरक्षक अर्पन कार्कीलाई टिम बाहिर निकालेका हुन् ।

यी तीन खेलाडीहरु बाहिरिएसँगै अब बन्द प्रशिक्षणमा कुल २५ खेलाडीहरु सामेल छन् । हाल पोखरामा बन्द प्रशिक्षणमा व्यस्त रहेको राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली छिटै घोषणा गरिने अनुमान गरिएको छ ।

स्मरण रहोस, नेपाल अहिले भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण फुटबल म्याचका लागि बन्द प्रशिक्षणमा व्यस्त छ । यद्यपि टोलीको मुख्य योजना भने आगामी अक्टुबरमा हुन गईरहेको साफ च्याम्पियनसिप नै रहेको छ । नेपालले भारतसँग यहि सेप्टेम्बर २ र ५ तारीखका दिन दशरथ रंगशालामा मैत्रीपूर्ण म्याच खेल्दैछ ।

साफ च्याम्पियनसिप भने अक्टुबर १ देखि १६ तारीखसम्म माल्दिभ्समा हुँदैछ । जसअन्तरगत प्रतियोगिताको उद्घाटन खेलमै नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।