काठमाडौं । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

मछिन्द्रले बिहीबार सामाजिक सञ्जालमार्फत विशालले सम्झौता नवीकरण गरेको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि विशालको सम्झौता थप गरेको हो ।

नयाँ सिजनको ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ । मछिन्द्र पछिल्लो संस्करणको ‘ए’ डिभिजनको च्याम्पियन टोली हो ।

मछिन्द्रले पहिलो पटक शीर्ष डिभिजनको लिग जित्दा विशाल टिमका मुख्य खेलाडी रहेका थिए । अघिल्लो सिजनको लिगमा विशाल उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । विशालले नेपाल सुपर लिग धनगढी एफसीबाट खेलेका थिए ।

यस्तै, राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर देवेन्द्र तामाङले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

मच्छिन्द्रले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत देवेन्द्रले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ । यससँगै उनी थप एक सिजन मच्छिन्द्रकै जर्सीमा देखिनेछन् ।

मच्छिन्द्रले क्लब इतिहासमै पहिलोपटक शीर्ष डिभिजनको लिग जित्दा देवेन्द्र टोलीका मुख्य खेलाडी रहेका थिए । देवेन्द्रले घरेलु फुटबलमा मनाङ-मर्स्याङ्दी, थ्री स्टार, च्यासल र झापा ११ बाट लिगसँगै मोफसलका विभिन्न प्रतियोगिता खेलिसकेको अनुभव छ ।

यस अघि मछिन्द्रले रञ्जित धिमाल, गोलकिपर विशाल श्रेष्ठ, फरवार्ड रेजिन सुब्बा, मिडफिल्डर सुजल श्रेष्ठ र अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको थियो । त्यस्तै मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।