काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालको बन्द प्रशिक्षण कतारको दोहामा हुने जनाएको हो ।

नेपाली टिम सेप्टेम्बर १० (भदौ २५) मा दोहा प्रस्थान गर्ने छन् । साफ च्याम्पियनसिपका लागि नेपालले कतारमा तयारी गर्न लागेको हो ।

नेपाली टोलीले हाल पोखरामा तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा २५ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्नेछन् ।