काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्नका लागि दर्शकलाई कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने अनिवार्य गरिएको छ ।

खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्ने एन्फाले जनाएको छ।

यसैबीच, दुई मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको छ । एन्फाले बुधबार दुई फरक दरको टिकट मूल्य तोकेको हो । एन्फाले सामान्य प्यारापिटतर्फ १ हजार र भीआईपीतर्फ २ हजारको टिकट मूल्य तोकेको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ ।

मैत्रीपूर्ण खेलका लागि सरकारले ५ हजार १ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । नेपालले भारतसँग भोलि (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।