विराटनगर । गत वैशाख ४ गते विराटनगरमा सम्पन्न भएको विराट गोल्डकपबाट ८ लाख रुपैयाँ नाफा आर्जन भएको छ ।

२०७७ चैत २७ गतेदेखि सञ्चालित छैठौँ संस्करणको गोल्डकपमा ८ लाख रूपैयाँभन्दा बढी मुनाफा भएको आयोजकले जनाएको हो । गोल्डकप आयोजक समितिका संयोजक मनोजविक्रम शाहले प्रतियोगिताबाट ८ लाख २ हजार रूपैयाँ मुनाफा भएको जानकारी दिए।

उनका अनुसार १ करोड ४७ लाख ७४ हजार रुपैयाँ आम्दानी भएकोमा १ करोड ३९ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ। प्रतियोगिता हेर्न आउने दर्शकले काटेको टिकटबाट ५९ लाख ७६ हजार रुपैयाँ संकलन भएको शाहले बताए। प्रदेश १ सरकारले ४० लाख रुपैयाँ दिने जनाएर अन्तिममा १४ लाख ७७ हजारमात्र दिएको उनको भनाइ छ।

त्यस्तै विराटनगर महानगरपालिकाल ११ लाख, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट ३ लाख ९४ हजार, मुख्य प्रायोजकबाट २० लाख, प्रायोजकबाट १० लाख, सह–प्रायोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, खाना प्रायोजकबाट २ लाख ५० हजार संकलन भएको जानकारी उनले दिए।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाले कोरोना महामारीका बावजुद प्रतियोगिता सभ्य र भव्यरूपमा सम्पन्न भएको दाबी गरे । प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले चुमेको थियो। उसले फाइनलमा भारतको पञ्जाब पुलिसलाई १-० गोलअन्तरले पराजित गर्दै १५ लाख १५ हजार रुपैयाँ र ट्रफी हात पारेको हो।

पहिलो पटक नेपाली भूमिमा स्पर्धा गरेको पञ्जावले विराटनगरमा राम्रो छाप छाडे पनि उपविजेतामा चित्त बुझाउँदा ७ लाख ५१ हजार नेपाली रुपैयाँ मात्रै प्राप्त गर्‍यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइएको थियो।

अन्य ७ विधामा उत्कृष्ट हुने खेलाडीले नगद २५ हजार प्राप्त गरेका थिए। प्रतियोगिताअन्तर्गत प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीलाई प्रतिव्यक्ति १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।