झापा । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा नेपालले भारतसँग भएको अन्तर्राष्ट्रिय फुटबल खेलमा बराबरीमा चित्त बुझाउनु परेको छ ।
दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि पहिलो हाफको ३६औँ मिनेटमा गोल भएको थियो ।
नेपालका लागि अन्जन विष्टले भारतका गोलरक्षक गुरुप्रित सिंह सन्धु बिट भएको मौकामा गोल गरेर अग्रता दिलाएका थिए ।
तर, खेलको ६०औँ मिनेटमा भारतले बराबरी गोल गर्यो । जसमा भारतीय खेलाडी अनिरुद थापा खेललाई बराबरीमा पुराउन सफल भए ।
नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङको हातबाट फुत्किएको बललाई गोललाइनबाट थापाले गोल गरेका थिए ।
भारतीय कप्तान सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए पनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।