काठमाडौँ । नेपाल दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतविरुद्ध आइतबार पराजित भए पनि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको प्रदर्शनमा खुसी व्यक्त गरेका छन् ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले हारका बावजुद टिमको प्रदर्शन उत्कृष्ट रहेको बताएका हुन् । उनी यस्ता प्रशिक्षक हुन्, आफ्नो टिमले हार्दा पनि खेलाडी गल्ती होइन, मलाई माफ गर्नुस् भन्छन् ।
उनले भने, ‘नेपाली टिमको प्रदर्शनमा मलाई कुनै गुनासो छैन । सबैले राम्रो खेले । हारमा धेरै गुनासो छैन ।’ उनले आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसिप नै रहेको दोहर्याउँदै मैत्रीपूर्ण खेलमा हारलाई स्वभाविक मान्नु पर्ने बताए ।
उनले साफमा नेपालको प्रदर्शन सुधारिएको हुने र राम्रो नतिजा आउने पनि बताए ।

भारतीय टिमका प्रशिक्षक इगोर स्टिकले दोस्रो खेल पहिलेको तुलनामा राम्रो भएको दाबी गर्दै आफ्नो टिममा अझै सुधारको आवश्यक भएको बताए ।
उनले भने, ‘आज दुवै टिमले राम्रो खेले । विशेषतः दोस्रो हाफमा भारतको प्रदर्शन व्यावसायिक रह्यो । हाम्रा खेलाडीले संयमित भएर खेले, त्यसैले गोल निकाल्न सफल रहे ।’
उनले नेपाली टिममा सुधार आएको पनि माने । नेपाली टिमले लामो समयदेखि प्रशिक्षण गरिरहेका हुनाले यस्तो प्रदर्शन स्वाभाविक रहेको पनि माने ।

प्रशिक्षक स्टिकले दोस्रो हाफमा आफ्नो टिमले पेनाल्टी पाउने पर्ने दाबी गर्दै रेफ्री प्रज्ज्वल क्षेत्रीको निर्णय गलत रहेको बताए । मैत्रीपूर्ण खेलमा यस्तो हुनु नहुने बताए ।