काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जीत हासिल गरेको छ ।
बंगलादेशविरुद्ध २-१ गोलअन्तरको नतिजा निस्कँदा दुवै गोल डेब्यू बन्न पुग्यो । नेपालको जीतमा दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।
बंगलादेशविरुद्ध नेपालका लागि सविता रानामगर र प्रिति राईले गोल गरेका हुन् । बंगलादेशका लागि भने ८३औँ मिनेटमा सब्स्च्यिूट खेलाडी थाेउरा खातुनले गोल गरिन् ।
यस खेलमा प्रिती राई र सबिता राना राष्ट्रिय महिला फुटबल टिमको डेब्यु खेलमै चम्किए । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा बिहीबार राष्ट्रिय टिमबाट डेब्यु गरेका दुवै खेलाडीले पहिलो खेलमै गोल गरेका छन् ।
सबिताले पहिलो हाफको १३औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । प्रितिले २३औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाउने काम गरिन् ।

सबिता फरवार्ड र प्रिति मिडफिल्डरको रुपमा राष्ट्रिय टिमबाट डेब्युको अवसर पाएका थिए । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा दुवै खेलाडीलाई सुरुवाती ११ मा मौका दिएका थिए ।
रंगशालामा महिला टिमको डेब्यू
नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा डेब्यू गरेको छ ।
बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलसँगै महिला टिमले नेपाली फुटबलको मूल घर दशरथ रंगशालामा डेब्यू गरेको हो ।
नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको साढे तीन दशकपछि मूल घरमा खेल्ने अवसर जुरेको हो । यस अघि नेपाली महिला टिमले दशरथ रंगशालामा खेलेको थिएन ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमले सन् १९८६ मा पहिलो पल्ट खेलेको थियो र प्रतियोगिता थियो, एएफसी वुमेन्स च्याम्पियनसिप ।

त्यस यता नेपाली महिला राष्ट्रिय फुटबल टिमले औपचारिक खेल दशरथ रंगशालामा खेल्ने अवसर कहिले पनि पाएन । यस्तोमा बंगलादेशविरुद्ध यो पहिलो खेल ऐतिहासिक बनेको छ।
नेपाली महिला फुटबलले अन्तराष्ट्रिय फुटबल अधिकांस समय विदेशमै खेलेको छ ।
एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।