झापा (एजेन्सी) । युएस टेनिस महिलातर्फको फाइनल खेल भोलि (आइतबार) हुँदैछ । यससँगै युएस ओपनले पहिलोपल्ट नयाँ विजेता पाउनेछ ।

युएस ओपन टेनिसको फाइनल खेलका लागि बेलायती खेलाडी एम्मा राडुकानु र क्यानडाली लेला फर्नान्डेज पुगेका छन् । दुवै खेलाडी पहिलोपल्ट युएस ओपनको फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा ग्रीसकी मारिया सक्कारीलाई पराजित गर्दै बेलायती राडुकानु फाइनलमा पुगेकी थिइन्।

१८ वर्षिया राडुकानुले सक्कारीलाई ६-१ र ६-४ को सेटमा हराइन्। टिनेज खेलाडी राडुकानु पहिलो पटक युएस ओपनको फाइनलमा पुगेकी हुन्।

अब राडुकानुले उपाधिका लागि क्यानडाकी लेला फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । फर्नान्डेजले आर्यना सबालेन्कालाई ७-६, ९७-३०, ४-६ र ६-४ को सेटमा पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

१९ वर्षिया फर्नान्डेज पनि पहिलो पटक युएस ओपनको फाइनल पुगेकी हुन्। जसले जीत हाँसिल गरे पनि यसपटक भने नयाँ विजेता घोषित हुने निश्चित छ ।