काठमाडौँ । एएफसी एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार प्रतिस्पर्धा गर्दै छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने देशकै मुख्यथलो ‘दशरथ रंगशाला’ मा पहिलोपल्ट उत्रिँदा महिला टिमले बिहीबार बंगलादेशमाथि २-१ को संघर्षपूर्ण जित हात पारेको थियो ।

सिनियर टिममा पहिलोपल्ट अवसर पाएका सविता राना र प्रीति राईले पहिलो हाफमा गोल गरेपछि नेपालले बंगलादेशविरुद्ध छैटौं जित हात पारेको थियो । खेलको अन्त्यतिर पाहुना टिमको चर्को दबाब झेलेको नेपालले बंगलादेशविरुद्ध सातमध्ये एक खेल बराबरी गरेको थियो । त्यसैले घरेलु टोली दोस्रो खेलमा पनि अपराजित यात्रा कायमै राख्दै जित हात पार्ने अभियानमा छ ।

प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो खेल राम्रै भए पनि उच्चस्तरको नभएको प्रतिक्रिया दिँदै आइतबार सुधारिएको प्रदर्शन गर्ने वाचा गरेका थिए । उनले पहिलो खेलमा फरवार्डद्वय सविता र प्रीतिलाई पहिलो रोजाइमै ‘डेब्यु’ दिएका थिए भने दोस्रो हाफमा डिफेन्डर सिर्जना सिंह र फरवार्ड रश्मीकुमारी घिसिङलाई पनि ‘पहिलो क्याप’ दिलाएका थिए ।

फिलिप्सले दोस्रो खेलमा थप खेलाडीलाई डेब्यु अवसर दिन सक्छन् । २३ सदस्यीय टिममा डिफेन्स निशा थोकर र विमला बिक, फरवार्ड रजनी थोकर र तेस्रो रोजाइकी गोलकिपर उषा नाथले डेब्यु गर्न बाँकी छ ।

अनुभवी डिफेन्डर पुनम जर्घामगरको मुटुमा समस्या देखिएका कारण मैदानमा उत्रने छैनन् । आजको कान्तिपुर दैनिकमा छ ।