काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को २६औं स्थापना दिवस विविध कार्यक्रमसहित आइतबार मनाइएको छ ।

स्थापना दिवसमा आइतवार मञ्चले अग्रज खेल पत्रकारिता सम्मानबाट मुकुन्द दाहाल र सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट गोविन्दराज नेपाललाई पुरस्कृत गरेको छ ।

खेल पत्रकारिता सम्मानस्वरुप दाहालले २५ हजार रुपैयाँ पाए भने युवा पत्रकारले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कृत गर्दे आएको छ ।

सम्मानित व्यक्तित्वलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी देबेन्द्रले सम्मान गरेका गरेका थिए ।

सो अवसरमा सम्मानित अग्रज पत्रकार दाहालले स्थापनाकालमा गरेको संघर्षको सम्झना गर्दै युवा पुस्ताले सम्मान गरेकोमा खुशी ब्यक्त गरे । सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट सम्मानित नेपालले पुरस्कारले पत्रकारिता यात्रा अगाडि बढाउन हौसला मिलेको बताए ।

उक्त अवसरमा प्रमुख अतिथि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद पत्रकारिताको विकासमा मञ्चको भूमिकाको प्रशंसा गर्दै संस्थाले पत्रकारिता क्षेत्रमा अझ प्रगति गर्दे जान शुभकामना दिए ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले स्थापना दिवसका अवसरमा अनुज, अग्रजलाई सम्मान गर्ने परम्परा राम्रो भएको भन्दै प्रशंसा गरे ।

उक्त अवसर नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेपाल खेलकुद पत्रकार मञ्च महासंघको सक्रिय एसोसियट सदस्यको रुपमा रहेको भन्दै प्रशंसा गरेका थिए ।

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापाले नेपालको खेलकुद क्षेत्रमा एनएसजेएफको योगदान उल्लेखनीय रहेको बताए । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसजेएफ एकेडेमीको माध्यमबाट खेलकुद पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

एनएसजेएफका अध्यक्ष सुवेदीले खेलकुद पत्रकारिताको अभियानलाई सक्रिय राख्ने सन्दर्भमा मञ्चले सधैँ नेतृत्वदायी भूमिका खेल्ने विश्वास दिलाए । मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा मञ्चको स्थापना भएको थियो ।