काठमाण्डौ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमवार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो । टोली सोमबार राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान गएको छ ।

छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बङ्गलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो । त्यही खेलमा भएका कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।

छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टोलीको घोषणा गर्दा डिफेन्डर पुनम जर्घा मगरले भने उज्वेकिस्तानको भ्रमण गुमाएकी छिन् । मुटुको समस्या देखिएपछि पुनम टोलीबाहिर रहेकी हुन् ।

मैत्रीपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको, छनोट खेल नेपालका लागि ठूलो मौका भएको फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने अपेक्षा रहेको फिलिप्सले थपे ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।